पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा फेरि अवरोध, ५ जना नियन्त्रणमा
कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनका क्रममा पोखरामा फेरि झडप भएको छ।पोखरा ३२ कोत्रेस्थित सेती नदी किनारको घाटमा शव व्यवस्थापन गर्न जाँदा बिहीबार प्रहरी र स्थानीयबीच ढुंगा हानाहान भएको हो।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरूषको बुधबार राति निधन भएको थियो। उनको शव व्यवस्थापन गर्न लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ।
कोरोना संक्रमित पुरूषलाई मधुमेह, स्वासप्रस्वास लगायतका समस्या देखिएका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा असार ८ गते ल्याइएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
प्रहरी र स्थानीयबीच झडप हुँदा केही स्थानीय युवा र प्रहरी घाइते भएका छन्। घाट प्रयोग गर्न दिने विषयमा छलफल हुँदै गर्दा शव व्यवस्थापन गर्न प्रहरी र नेपाली सेनाको टोली आएको र त्यसपछि स्थानीय युवाले प्रतिकार गरेको पोखरा महानगरका नगरसभा सदस्य धर्मबहादुर बस्नेतले बताए।
‘बिहानैदेखि उहाँहरू आउनुभएको रहेछ, घाटमा खाल्डा खनेर बस्नुभएको रहेछ, बस्नेतले भने, ‘गाउँलेले थाहा पाएपछि विरोध जनाएका हुन्।’प्रहरीले पोखरा महानगरको एक्साभेटर लगेर घाटमा शव व्यवस्थापन गर्न खाल्डो खनेको थियो।
झडपमा ५ जना स्थानीयलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। ८ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
WRITE COMMENTS FOR THIS ARTICLE