कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गत ४४ वर्षदेखि सहकार्य गर्दै आइरहे
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गत ४४ वर्षदेखि सहकार्य गर्दै आइरहेका छन्। टेलिसिरियल होस् वा फिल्म। प्रहसन अनि कार्यक्रममा पनि दुवै एकसाथ देखिन्छन्। त्यही अटुट सम्बन्ध र निरन्तर सहकार्यका कारण उनीहरूले महजोडीको उपनाम पाएका छन्।
महजोडी दस वर्षपछि काठमाडौँमा मञ्चमा फर्किँदैछ। कात्तिक २९ गतेबाट प्रज्ञा प्रतिष्ठानमा सुरु हुने ‘महजात्रा’ नामक प्रहसनमार्फत उनीहरूले प्रस्तुति दिनेछन्।
कलाकार हरिवंश यस कार्यक्रमलाई लिएर निकै उत्साहित छन्। वर्षौँपछि नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।
‘महजात्रा हामीले वर्षौँदेखि गर्दै आइरहेको कार्यक्रम हो। यसअघि नेपालको थुप्रै जिल्लामा यो कार्यक्रम गरेका थियौँ। विदेशमा गरे तापनि विभिन्न परिस्थितिले आठ/नौँ वर्ष गर्न सकेनौँ। यसपटक भने संयोग जुरेको छ। हामीले महजात्रा अष्ट्रेलिया र न्युजिल्यान्डमा गरिसकेका छौँ। जन्मभूमिमा पनि गर्नुपर्छ भनेर यो जमर्को गरिएको हो,’ उनले भने।
नाटककेन्द्रित प्रस्तुतिहरूमार्फत आफूहरूले राजनीति लगायतका विषयवस्तुमा व्यङ्ग्य गर्दै दर्शकहरूलाई मनोरञ्जन दिने उनको भनाइ छ।
‘कार्यक्रममा गीत र नृत्यहरू पनि हुनेछन्। सन्देशभन्दा पनि हामीले मनोरञ्जनलाई बढी प्राथमिकता दिएका छौँ। नेपालमा हुने घटनाहरूसहित राजनीतिक परिवेश छिरिहाल्छ,’आचार्यले नेपालखबरसँग भने, ‘प्रहसनमा राजनीतिक विकृतिलाई हास्यव्यङ्ग्यको मा प्रस्तुत गरिनेछ। दर्शकहरू हाँसेर हलबाट निस्किएर जाऊन् भन्ने उदेश्य छ।’
कलाकार मदनकृष्ण श्रेष्ठ लामो समयदेखि पार्किन्सन लगायतका समस्याबाट पीडित छन्। जसकारण पहिले जसरी उनले स्टेजमा प्रस्तुति दिन सक्दैनन्। यसअघि अष्ट्रेलिया र न्युजिल्यान्डमा गरिएको महजात्रामा श्रेष्ठले ह्विलचेयरमै बसेर प्रस्तुति दिएका थिए।
काठमाडौँमा हुने कार्यक्रममा पनि मदनकृष्ण सानो भूमिकामा देखिने हरिवंशले जानकारी दिए।
उनले भने, ‘मदन दाइ लामो समयदेखि बिरामी हुनुहुन्छ। जसकारण पहिलेजसरी स्टेजमा प्रस्तुति दिन सक्नुहुन्न। यस कार्यक्रममा उहाँको सानो भूमिका हुन्छ। महजात्राको लागि उहाँको उपस्थिति नै ठूलो कुरा हो।’
यो प्रहसन मह संचार र सुश्री मिडिया प्रालि को सहकार्यमा हुन लागेको हो। सोबाट उठेको रकम मानवसेवा आश्रम र मीरा फाउन्डेसनलाई दिइने समेत उनले दाबी गरे।
‘एउटा सो मानवसेवा आश्रमको लागि गरिने छ। अर्को चाहिँ मीरा फाउन्डेसनको सहयोगमा हुनेछ। मेरी श्रीमतीको नाममा मीरा फाउन्डेसनमार्फत क्राभेमा एउटा स्कुल सञ्चालन गरिएको छ। जहाँ ४० जना बच्चाहरू पढ्छन्,’ उनले भने।
उपत्यकाबाहिरका कार्यक्रमहरूको मिति भने तय नभएको उनले सुनाए। एक कार्यक्रमको अवधि दुई घण्टा ४० मिनेट रहनेछ।
महजोडीसहित किरण केसी, नरेन्द्र कंसाकार, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, शिवहरि पोड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभूषा बस्नेतले महजात्रामा प्रस्तुति दिनेछन्।
आयोजक सुश्री मिडिया प्रालिका सुमन महर्जनले कात्तिक २९ गतेबाट सुरु हुने कार्यक्रमको तयारी भव्य मा गरिएको जानकारी दिए। उनका अनुसार प्रस्तुति दिने कलाकारहरू २० दिनदेखि रिहर्सलमा गरिरहेका छन्।
‘कात्तिक २९ गतेबाट सुरु हुने कार्यक्रम मंसिर १८ गतेसम्म हुनेछ। बीचमा ग्याप राखेर हामीले १० वटा सो गर्नेछौँ। १० वर्षपछि महजात्रालाई नेपालमा गराउन पाउँदा खुसी छौँ। छ महिनाअघि अष्ट्रेलिया र न्युजिल्यान्डमा ७ वटा सो सफलतापूर्वक सम्पन्न गरेका थियौँ। हामीले जति पनि इभेन्ट गरिरहेका छौँ, त्यसबाट धेरैलाई सहयोग गरिरहेका छौँ,’ उनले भने।
अष्ट्रेलिया र न्युजिल्यान्डको महजात्रामा दर्शकहरूको उत्साहजनक उपस्थितिले नेपालमा कार्यक्रम गर्न उर्जा आएको उनले सुनाए।
भन्छन्, ‘ अष्ट्रेलिया र न्युजिल्यान्डको महजात्रामा दर्शकहरूको निकै माया पाएपछि उहाँहरूले नेपालमा पनि गरौँ भन्ने इच्छा व्यक्त गर्नुभयो। उहाँहरूले सकुञ्जेल स्टेजमार्फत दर्शकसँग जोडिन खोज्नुभयो। उहाँहरूले राजनीतिक र समसामयिक विषयवस्तुमाथि केन्द्रित रहेर प्रस्तुति दिनुहुनेछ।’
हास्यव्यङ्ग्यको माध्यमबाट समसामयिक समस्यासहित विविध मुद्दाहरूलाई उजागर गर्दै नेपाली समाजका परम्परा, राजनीतिक, सामाजिक संरचना तथा सांस्कृतिक कुरीतिप्रति व्यङ्ग्य गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
उनका अनुसार प्रज्ञा प्रतिष्ठानलगायतका ठाउँ र खल्ती एपमार्फत कार्यक्रमको टिकट काट्न सकिनेछ। १ हजारदेखि ३ हजारसम्मको टिकट उपलब्ध रहेको महर्जनले बताए।
पछिल्लोपटक सन् २०१५ मा नेपालमा महजात्रा आयोजना गरिएको थियो। त्यसयता कोभिड लगायतका कारणले कार्यक्रम हुने सकेन। यसअघि अमेरिकाका ३८ राज्य, क्यानडाका ६ र अस्ट्रेलियाका ७ राज्यमा महजात्रा सम्पन्न भइसकेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE