६ घण्टाभन्दा कम निद्राले कस्तो जोखिम ?
अनिद्राबाट तुरुन्त हुने असर भनेको शरीर आलस्य वा भारी महसुष हुनु हो । यसले हाम्रो दैनिक कार्यक्षमतामा समेत प्रभाव पार्छ। तर अनिद्रा वा अपुग निद्राले यतिमात्र समस्या ल्याउँदैन । उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगदेखि अरू थुप्रै किसिमको रोग निम्त्याउँछ ।
त्यसैले कति र कस्तो निद्रा लिने भन्ने कुरामा चिकित्सकहरूले एउटा मानक तयार गरेका छन् । उनीहरू भन्छन् ‘शारीरिक स्वास्थ्यका लागि ७ वा ८ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ।’
त्यसो त हाम्रा पूर्खाहरूले पनि शारीरिक स्वास्थ्यका लागि निद्राको आवश्यक्ता बोध गरेरै सुत्ने एवं उठ्ने तालिका निर्धारण गरे । उनीहरूले राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने तालिकाको अभ्यास गरे ।
युवाहरूको बिथोलिएको सुत्ने संस्कार
पूर्खाहरूले निर्धारण गरेको सुत्ने र उठ्ने तालिकालाई अहिलेको पुस्ताले भने पालना गरेका छैनन् । उनीहरूको न सुत्ने तालिका नियमित छ, न उठ्ने । कतिपय युवाहरू रातभर जाग्ने र बिहान अबेरसम्म सुत्ने गर्छन् ।
इन्टरनेटको सहज पहुँच, मोबाइल एवं सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवापुस्ताको सुत्ने संस्कार पनि भंग हुँदैछ । अहिलेका धेरैजसो युवा राति चाँडै सुत्दैनन् । बिहान सूर्योदयअघि उठ्दैनन् । यसले उनीहरूमा स्वास्थ्य जोखिम बढ्दैछ ।
कम निद्राले रोगको जोखिम
विशेषज्ञहरूका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निद्रा पूरा नहुनाले हाम्रो शरीरका कोषहरूमा क्षति पुग्छ । यसले शरीरको सन्तुलन बिग्रन्छ । यसैगरी निद्रा पूरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् ।
अनिद्राले बेचैनी वा तनावको स्तर बढ्छ । यससँगै पाचन प्रक्रियामा समेत समस्या आउन सक्छ । शरीरको जैविक घडी विपरीत सुत्ने र उठ्ने गर्दा त्यसै पनि स्वास्थ्य समस्या देखापर्ने नै भयो । त्यसमाथि अनिद्राले बेचैनी, चिन्ता र छटपटी बढाइदिएको छ ।
शरीरलाई जसरी खाना, पानी र वायुको आवश्यक्ता पर्छ, उसैगरी विश्रामको पनि । कुनै न कुनै रुपमा सक्रिय शरीरलाई निश्चित अवधीमा विश्राम चाहिन्छ । निदाउनु एक विश्रामकै क्षण हो ।
गहिरो निद्राका लागि
गहिरो र पर्याप्त निद्राका लागि निश्चित समय तालिकाअनुसार सुत्ने र उठ्ने अभ्यास गर्नु जरुरी छ । सधैं एउटै समयमा सुत्ने र उठ्ने गरेमा सोहीअनुसार हाम्रो शरीर पनि अभ्यस्त हुन्छ । खासगरी राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने अभ्यास स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
त्यसो त गहिरो निद्राका लागि समुचित शारीरिक श्रम वा व्यायाम पनि आवश्यक हुन्छ । यसैगरी मनलाई शान्त तुल्याउन प्राणायाम र ध्यान विधि उपयुक्त हुन्छ ।
WRITE COMMENTS FOR THIS ARTICLE