भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार इलामका बाढी–पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण

0
0

इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार इलामका बाढी–पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले इलाम नगरपालिका–१० को माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गरेका हुन् ।
निरीक्षण टोलीमा ऊर्जा मन्त्री घिसिङसँगै गृहसचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्ट, र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङ पनि सहभागी थिए ।
माइखोला टापुमा बाढी–पहिरो पीडितहरूसँग भेट गर्दै मन्त्री घिसिङले उनीहरूको समस्या सुने । पीडितहरूले तत्काल पुनःस्थापना र दीर्घकालीन बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । मन्त्री घिसिङले अहिले बन्द रहेको मेची राजमार्ग आइतबारसम्म अस्थायी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउँदै, दीर्घकालीन समाधानका लागि विकल्पहरू खोज्ने योजनाबारे जानकारी दिए ।
इलाम नगरपालिकामा बाढीले पुर्‍याएको क्षतिको विवरण नगर प्रमुख केदार थापाले मन्त्रीसमक्ष प्रस्तुत गरे । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा राहत, पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण र दीर्घकालीन व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको थियो ।
छलफलमा मन्त्री घिसिङले इलामलाई प्राथमिकतामा राखी तत्कालीन तथा दीर्घकालीन दुवै खालका उपायहरू अपनाइने बताए । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा भएको क्षति र राहत कार्यबारे जानकारी गराइन ।
यसअघि मन्त्री घिसिङले रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा पुगेर त्यहाँको अवस्थाको पनि अवलोकन गरेका थिए । माइखोला टापुमा मात्र ३८ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । नेपाली सेनाको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई अस्थायी बसोबास गराइएको छ ।
बाढीपीडित डुक्पा विश्वकर्माले आफ्नो घर र सम्पूर्ण सम्पत्ति बाढीले बगाएपछि सरकारले दिगो पुनःस्थापना गर्नुपर्ने माग गरे । खनेको सडक फेरि बगेका कारण मेची राजमार्ग कहिले खुल्ने भन्ने निश्चित छैन ।

 

LEAVE A REPLY