भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए।
ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको उनको भनाइ छ।
यस्ता रकम अर्थमन्त्रालयमार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेछ।
ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि आजको बैठकले गरेको अर्यालले जानकारी दिए।
घाइतेहरूको नि:शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ। त्यस्तै जेनजी आन्दोलनमा दमन भएको भनिएको र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।
त्यस्तै ज्यान गुमाएका जेन्जीहरूको स्मरणमा जेन्जी जागरण स्मारक पार्क बनाउने र त्यसका लागि ठाउँ खोजी गर्ने निर्णय भएको अर्यालले बताए।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय
साउदी उड्न ठिक्क परेका अभिषेक, दुई छोरीका बाबु मोहनको मृत्यु
जेनजी आन्दोलनको दोस्रो दिन। इटहरी उपमहानगरपालिका १४ का रामनारायण सरदार मोबाइल चलाइरहेका थिए। टाइमलाइन स्क्रोल गर्दा आन्दोलनकै खबर छ्यापछ्याप्ती आइरहेका थिए। त्यसैबेला उनले थाहा पाए: आन्दोलनमा भाइ मोहन सरदारको गोली लागेर मृत्यु भएको रहेछ।
‘त्यो घटना सोमबार साँझ ४/५ बजेतिर भएछ। मंगलबार बिहान ११ बजे थाहा पाएँ। मोबाइल चलाउँदै थिएँ, पुलिस चौकीअघि गोली लागेको त आफ्नै भाइ रहेछ भन्ने थाहा पाउँदा झसंग भएँ,’ उनले भने।
मोहन रामनारायणका काकाका छोरा हुन्। उनका अनुसार मोहन डकर्मीको गर्थे। खुट्टामा चोट लागेपछि उपचारका लागि सामुदायिक अस्पताल गएका थिए। सामुदायिक अस्पताल प्रहरी कार्यालयभन्दा ठिक अगाडि थियो। जहाँ जेनजीले आन्दोलन गरिरहेको थियो। त्यही आन्दोलनमै छातीमा गोली खाएर मोहनले ज्यान गुमाउनुपर्यो।
उनका अनुसार ४० वर्षीय मोहनका श्रीमती र दुई छोरी छन्। श्रीमानको मृत्युको खबरसँगै उनकी श्रीमती विक्षिप्त छिन्। जो केही महिनाअघि मात्रै कुवेतबाट बिदामा घर आएकी थिइन्। भदौ २६ गते उनी फर्किने कुरा थियो। तर, त्यसो हुन सकेन।
‘अब भाइ त गुमाइसक्यौँ, सरकारले जुन दिने भनेको छ, त्यो दिनुपर्यो। श्रीमतीसहित साना दुइटा बच्चा छन्। उनीहरूको व्यवस्था राम्रो हुनुपर्यो,’ उनले भने।
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गरेर जनही १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ। आज मात्रै गृहमन्त्रीको पदभार ग्रहण गरेसँगै ओमप्रकाश अर्यालले मृतकलाई १ लाख किरियाखर्च दिने घोषणा गरिसकेका छन्।
‘नयाँ सरकार आइसक्यो। अरू काम चाहिँ हुँदैगर्छ। १ लाख दिने कुरा फुकिराखेको छन् नि, त्यो पनि चाँडै नै उपलब्ध हुनुपर्यो। किरियाखर्च पठाउनुपर्यो। किनकि उनीहरूको अवस्था नाजुक हुँदा अवस्था गाह्रो भइरहेको छ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।
त्यसै दिन इटहरीका १८ वर्षीय अभिषेक श्रेष्ठले पनि ज्यान गुमाए। अभिषेक विदेश जाने तयारीमा थिए। भदौको २८ गते शनिबार उनको साउदीको उडान थियो। र, मेनपावरमा सबै पैसा बुझाइसकेका थिए। तर, २४ गते भएको जेनजी आन्दोलनमा विदेश जान नपाउँदै अभिषेक सधैँका लागि अस्ताए। विदेश जान लागेका छोराको मृत्यु हुँदा परिवार नै शोकमा डुबेको छ।
इनरुवा ६ घर भएका अभिषेक इटहरी बस्दै आएका थिए। उनी आन्दोलनमा गएको परिवारलाई समेत थाहा थिएन। पछि दाइको छोरामार्फत भतिजको मृत्युको खबर थाहा पाएको सुनाउँछन् ठूलोबुवा टीकाबहादुर श्रेष्ठ।
‘अभिषेक आन्दोलनमा गएको पनि थाहा थिएन। पछि दाइको छोराले अभिषेक गोली लागेर बित्यो भन्यो,’ उनले भने, ‘उसको गएको शनिबार साउदीको फ्लाइट थियो। मेनपावरमा पनि पैसा दिइसकेको थियो। तर, विदेश जान नपाउँदै यस्तो भयो।’
उनका अनुसार अभिषेकका बुवा रोजगारीको सिलसिलामा दुई महिनाअघि मात्रै दुबई गएका थिए। तर, छोराको मृत्यु भएपछि उनी नेपाल फर्किएका छन्। अभिषेकका एकजना बहिनी र भाइ छन्।
ज्यान फर्किएर नआए पनि अभिषेकको परिवारलाई हेर्नुपर्ने टीकाबहादुरको माग छ।
उनी थप्छन्, ‘छोरा गुमाइसक्यौँ। देशलाई परिवर्तन गर्न भनेर उनीहरू लागेका थिए। तोकिएको क्षतिपूर्ति दिइयोस्। १२ पास भएको अभिषेकको एउटा भाइ छ। उसलाई जागिर दिनुपर्यो। सरकारले मृतक परिवारको बारेमा सोच्नुपर्छ।’
मुख्य दलहरुको मुख्य नेताहरु घर बिहिन भएको अवस्था
जेन–जी प्रदर्शनकारीमाथि सरकारले भाद्र २३ गते गरेको बर्बर दमनको प्रतिशोधमा भएको विध्वंसको निसाना सरकारी भवनदेखि नेताका घरसम्म परेका छन्।
भाद्र २४ गते नेपालको मुख्य प्रशासनिक केन्द्र नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालत तहसनहस पारेका प्रदर्शनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका नेता र पार्टी कार्यालयमा आगो लगाएर ध्वस्त बनाइदिए।
१९ जना युवा मारिएको आक्रोशमा प्रदर्शनकारीले चारपाँच घण्टाको अवधिमा राजनीतिक पार्टीका कार्यालय मात्र होइन, नेताहरूको घर समेत पूर्णरुपमा क्षति पुर्याएको नेताहरू बताउँछन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर आगो लगाएर पूर्ण रुपमा नष्ट गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवा र उनकी श्रीमती निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भौतिक आक्रमण गरेर सख्त घाइते बनाएको र अहिले दुवैको उपचार भइरहेको उनले बताए।
महामन्त्रीद्वय गगन थापाको काठमाडौँ र विश्वप्रकाश शर्माको काठमाडौँको भाडामा लिएको घर तथा झापाको घर पूर्णरुपमा नष्ट भएको छ। यस्तै प्रकाशमान सिंहको घर र त्यहाँ पार्किङ गरिराखिएका ४ वटा गाडी, रमेश लेखकको घर पनि आगजनीले ध्वस्त भएको छ।
‘केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य गरी ४० जनाको घर पूरै ध्वस्त भएको अहिलेसम्म जानकारी प्राप्त भएको छ। कतिपयलाई फिजिकल एट्याक पनि भएको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘सबै जिल्लामा फोन गरेर एकदुई दिनसम्म मेल गरिदिनु भनेको छु। म क्षतिको विवरण संकलन गरिरहेको छु।’
केन्द्रीय कार्यालय पूर्णरुपमा नष्ट भएको उनको भनाइ छ।
‘हाम्रो पार्टी कार्यालय खरानी बनाइएको छ। ऐतिहासिक दस्ताबेज सबै ध्वस्त भएको छ,’ उनले थपे।
छिट्टै अस्थायी रुपमा पार्टी कार्यालय चलाउने उनले बताए।
‘नेपाली कांग्रेस राणालाई सिध्याएको पार्टी हो। पञ्चायतसँग लडेर जितेको पार्टी हो। यी सानातिना कुराले असर त आम नागरिकलाई गरिसक्यो,’ मुख्यसचिव पौडेलले भने, ‘तर, कांग्रेसले आफूलाई ब्युँताउँछ। संविधानलाई ट्रयाकमा ल्याउँछ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई कायम गराउँछ। कांग्रेस पार्टी दुबो हो। नेपालको इतिहासमा संकट व्यवस्थापनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ। अब पनि गर्छ।’
जेनजी प्रदर्शनकारीको निसानामा परेको अर्काे राजनीतिक दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवास खरानी बनाइदिएको उपाध्यक्ष गुरु बरालले बताए।
उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठको जनकपुरस्थित घर जलाइएको छ।
त्यस्तै, प्रदेशका मुख्यमन्त्रीहरू यमलाल कँडेल, चेतनारायण आचार्य, पोलिटब्युरो सदस्यहरू गोकुल बास्कोटा, महेश बस्नेत लगायत केन्द्रीय, प्रदेशदेखि पालिकासम्मको नेताको घर आक्रमणकारीले तोडफोड र जलाइदिएको बरालको भनाइ छ।
‘हामी सबैतिरको क्षतिको विवरण संकलन गरिरहेका छौँ। तर, यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति हो। प्राकृतिक प्रकोप र भूकम्पको भन्दा पनि ठूलो क्षति,’ बरालले भने, ‘राजनीतिक भूकम्पहरूभित्र माओवादी युद्धको बेलामा पनि यति क्षति भएको थिएन। जुन जिल्लामा सम्पर्क गर्यो, त्यहीँको पार्टी कार्यालय र नेताको घर फोरेको भन्नुहुन्छ।’
केन्द्रीय कार्यालय खरानी हुँदा थुप्रै महत्त्वपूर्ण दस्तावेज नष्ट भएको बरालको भनाइ छ।
‘पार्टी कार्यालय च्यासलमा पार्टीका ऐतिहासिक दस्ताबेजहरू सबै जलाए। कसैसँग इलेक्ट्रोनिकल भर्सन थियो भने त्यो बचेको छ, हाम्रो संगठनात्मक विवरण बाहिर हार्ड कपी भएको हुनाले त्यो बच्यो। अब हामी केही हार्ड डिस्क खोलेर हेर्दैछौँ, त्यहाँ केही बचेको छ कि,’ उनले थपे।
एमालेले प्रत्येक जिल्ला कार्यालयसँग प्रदर्शनकारीले गरेको आक्रमणले पुर्याएको क्षतिको विवरण माग गरेको उनले बताए।
‘मानसिक क्षति र भौतिक क्षतिले पार्टीलाई अस्थायी धक्का त दिन्छ तर, विचार, नीति संगठन र सिद्धान्त हामीसँग छ। हामी जित्छौँ,’ बरालले भने।
जेनजी प्रदर्शनकारीको निसानामा नेकपा माओवादी केन्द्र पनि पर्यो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, चार वटा गाडी पूर्णरुपमा खरानी भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए। २२ जना नेताको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको विवरण आए पनि देशभर निकै ठूलो संख्यामा आगजनी र भौतिक क्षति भएको उनले बताए।
कोटेश्वरस्थित माओवादीको केन्द्रीय कार्यालयका एक अधिकारीले केही बाँकी नरहेको बताए।
‘केन्द्रीय कार्यालयमा हाम्रो केही बाँकी छैन, सबै शून्य। केही सग्लो छैन। सबै महत्त्वपूर्ण दस्तावेज थियो, ती केही बाँकी छैनन्। पूर्णरुपमा नष्ट छ। कुनै रसायन हालेर आगजनी गरेको जस्तो देखिन्छ। भित्ता सबै जलेर खण्डहर छ,’ ती अधिकारीले भने, ‘सार्वजनिक पद बाहेकका ४० जना बढी नेताको घर पूर्णरुपमा क्षति पुर्याइएको छ। अलिकति कम क्षति भएको कर्णालीमा मात्र हो। कर्णालीको प्रदेश कार्यालय मात्र क्षति भएको छ। नत्र अरु सबै प्रदेशमा नेताका घर जलाइएको छ।’
अझै विवरण संकलनको काम भइरहेको उनको भनाइ छ। माओवादीको सबै जिल्लामा पार्टी कार्यालय थिएनन्। भवन नभएको ठाउँमा सामान लुटपाट र तोडफोड भएको उनले बताए
माओवादीको केन्द्रीय कार्यालयमा ३ वटा मोटरसाइकल पनि जलाइएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास, सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवास पूर्णरुपमा ध्वस्त बनाइएको छ।
घरमा आगो लगाउँदा खनालकी श्रीमती गम्भीर घाइते भएकी छन्। वरिष्ठ नेता राजेन्द्र पाण्डेको धादिङमा रहेको निवास तोडफोड र आगजनी भएको छ।
माधव नेपालको तीन भाइको घरमा आगजनी गरिएको छ। स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको गाडी जलाइएको छ। समाजवादीको पार्टी कार्यालय पनि तोडफोड र आगजनी भएको छ। आगजनीले पार्टीका महत्त्वपूर्ण दस्तावेज जलेर खरानी भएको नेताहरू बताउँछन्।
रास्वपा र राप्रपाको पार्टी कार्यालय र नेताहरूमाथि भौतिक आक्रमण नभएको नेताहरू बताउँछन्।
आगजनीले तहसनहस भएपछि कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरू घरबारविहीन भएका छन्। उनीहरू अहिले सेनाको उच्च सुरक्षा घेरामा रहेका छन्।
अर्याललाई मन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री कार्कीविरुद्ध सुदन गुरुङ समूह असन्तुष्ट, माग्यो राजीनामा
काठमाडौं । आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनसँगै गरेका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति बालुवाटारस्थित सरकारी निवास अगाडि विरोध प्रदर्शन गरेका छन् ‘जेनजी अगुवा’ भनिएका गुरुङको समूहले प्रधानमन्त्री कार्कीले गरेका मन्त्री छनोट उचित नभएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको हो। खासगरी अधिवक्ता तथा अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिइएको निर्णयप्रति उनीहरू असन्तुष्ट देखिए।प्रदर्शनका क्रममा गुरुङले चेतावनी दिँदै भने, “यो सुरु मात्र हो, फेरि आन्दोलनमा उत्रियौँ भने कसैले रोक्न सक्दैन।” उनका समर्थकहरूले ‘मुर्दामाथि राजनीति नगर’, ‘आन्दोलनको नेतृत्व हामी हौँ’ जस्ता नारा लगाएका थिए। उनीहरूले केही व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाए।प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेपछि तीन जनालाई मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। अधिवक्ता ओमप्रकाश अर्याललाई गृहसहित दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहकारी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।प्रधानमन्त्रीले यी नामहरू राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेकी छन्। शपथग्रहण कार्यक्रम सोमबार (आज)का लागि तय गरिएको शीतल निवास स्रोतले जनाएको छ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा ३० जनाभन्दा बढीको मृत्यु भएको पुष्टी
अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा ३० जनाभन्दा बढीको मृत्यु भएको पुष्टी भइसकेको छ। भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन्। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। बीबीसीको पश्तो सेवाका अनुसार तालिबान सरकारले यस भूकम्पमा सयौंको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। अफगानिस्तानको अनलाइन मिडिया एरियानान्युजका अनुसार रिपोर्ट गरिएका ३० जनाको मृत्यु एउटै गाउँमा भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले एक वक्तव्यमा भनेका छन् ‘मृत्युको संख्या निकै धेरै छ तर प्रभावित क्षेत्रहरू दुर्गम भएकोले पहुँच गर्न कठिन छ । हाम्रो टिम प्रभावित क्षेत्रमा छ । भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ। भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। जबकि केही क्षेत्रहरूमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन। कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताएअनुसार भूकम्पका कारण आएको बाढी र पहिरोका कारण यस क्षेत्रका सडकहरू बन्द गरिएका छन्। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोग खोजिरहेको बताएका छन्। २०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिए, जसमा करिब १,००० जनाको मृत्यु भयो। त्यसबेला पनि पहिरोका कारण दुर्गम गाउँहरूमा राहत र उद्धार कार्यमा बाधा पुगेको थियो। त्यसबेला पनि हवाई मार्गबाट राहत र उद्धार कार्य गरिएको थियो।
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता
सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच आज भेटवार्ता भएको छ।
दुई देशका प्रतिनिधिमण्डलसहित ओली र सुसौलिथबीच भेटवार्ता भएको हो।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम छ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा गएका हुन्।
प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ।
आजै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
चिनियाँ राष्ट्रपतिले नेपाललाई दिएको प्रस्ट खाका
सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता गरेका छन्।
एससीओको शिखर सम्मेलन हुने चिनियाँ सहर तियान्जिनमा शनिबार भएको भेटवार्तामा ओलीले लिपुलेक लगायतका भूभाग नेपालको भएको प्रष्ट पार्नुका साथै सीसँग सहयोगको पनि अपेक्षा गरेका थिए।
त्यो सहयोग विशेष गरी आर्थिक क्षेत्रमा थियो। भेटवार्तामा सहभागी प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई छिटो कार्यान्वयनमा लैजान नेपालले आग्रह गरेको थियो।
त्यस्तै प्राकृतिक विपद लगायतले नेपाल-चीन सीमामा अवरोध आएकाले त्यसलाई खुलाउन पनि प्रधानमन्त्री ओलीले चीनको सहयोग मागेका थिए।
खतिवडाका अनुसार जवाफमा चिनियाँ राष्ट्रपतिले मुख्यगगरी तीन/चार वटा विषय प्रष्टरुपमा राखेका थिए।
चिनियाँ राष्ट्रपतिले राखेका तीन विषय
एक, हामी नेपाललाई भूपरिवेष्ठितबाट ल्यान्ड लिङ्क्ड अर्थात् जमिनको माध्यमबाट ठूला बजारमा आबद्ध हुने देशको रुपमा विकास भएको हेर्न चाहान्छौँ।
दुई, उनले व्यापारिक नाकाहरू खोलेर सुचारु गराउने कुरामा थप प्रतिबद्धता गरेका छन्। अहिलेको अवरोध हटाउन चीन तयार नै छ भन्ने कुरा द्विपक्षीय भेटवार्तामा राखेका छन्।
तीन, चीनमा नेपालको तर्फबाट अलि ठूलो मात्रामा निर्यात बढाउनका लागि गुणस्तरीय कृषियोग्य वस्तुको कुरा चिनियाँ राष्ट्रपतिले गरेका छन्। नेपालमा औधोगिक विकास गर्नको लागि चीनको सहयोग रहने उनले स्पष्ट पारेका छन्।
खासगरी अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्छ भन्ने विश्वास दिलाएका छन्। र, आबद्धताका धेरै विषयमा चीनको सहयोग रहने आफ्नो भनाइ राखेका छन्।
साथै, सी चिनफिङले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागत गर्न संयन्त्र नै बनाएर जानुपर्ने मत राखेका थिए। ‘नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागतरुपमा अगाडि बढाउनलाई संयन्त्र बनाएर अघि बढ्नुपर्ने भन्नुभएको छ,’ खतिवडाले भने।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएकाे छ ।
चीनकाे सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका ओली र भारतीय मोदीबिच भेट भएको हाे ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबिच भेट भएको हो ।
मोदीले नेपालसँगको भारतको सम्बन्ध गहिरो र विशेष भएको उल्लेख गरेका छन् ।