१. घटना र विषयसँग सम्बन्धित समाचार:
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतलाई ‘नियमित इन्धन आपूर्ति’ गर्न तयार रहेको घोषणा गरेका छन्। उनले अमेरिकाले भारतमाथि रूसी तेल नकिन्न दिएको दबाबको आलोचना गर्दै, अमेरिकाले स्वयं रूसी परमाणु इन्धन किनिरहँदा भारतलाई दण्डित गर्नु अन्यायपूर्ण भएको बताए। भ्रमणका क्रममा दुवै देशबीच भिसा, व्यापार, परमाणु परियोजना, जहाज निर्माण तथा ‘क्रिटिकल मिनरल्स’ क्षेत्रमा समझदारी आदानप्रदान भएका छन्। साथै, दुवैले २०३० सम्मको आर्थिक कार्यक्रम पनि सार्वजनिक गरेका छन्।
२. घटना र विषय हुने कारण:
भारत विश्वकै तेस्रो ठूलो पेट्रोलियम उपभोक्ता राष्ट्र भएको र २०२२ मा युक्रेन युद्धपछि रूसी तेल आयात बढी गरेको कारण अमेरिकाले भारतलाई दबाब दिएको छ। ट्रम्प प्रशासनले भारतीय उत्पादनमा उच्च शुल्क लगाउँदै भारतलाई रूसी तेल खरिदले युक्रेन युद्धलाई आर्थिक सहयोग पुग्छ भन्ने आरोप लगाएको छ। भारत–अमेरिका भन्सार विवाद बढेका बेला पुटिनको भारत यात्राले भारत–रूस पारम्परिक साझेदारीलाई मजबुत पार्ने उद्देश्य राखेको देखिन्छ। साथै, रूस–युक्रेन युद्धको सम्भावित ‘शान्ति सम्झौता’ को प्रारम्भिक प्रयासमा अमेरिका लागेको अवस्थामा पुटिनको भारत भ्रमणले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ समीकरण निर्माण भएको छ।
३. घटना र विषयबाट सिक्नु पर्ने शिक्षा:
यो घटनाबाट ठूला राष्ट्रहरूबीचको ऊर्जा, व्यापार र कूटनीतिक सम्बन्ध अत्यन्तै जटिल र बहुआयामिक हुने देखिन्छ। ऊर्जा सुरक्षाले राष्ट्रहरूलाई कूटनीतिक दबाबभन्दा व्यावहारिक हितलाई प्राथमिकता दिन बाध्य बनाउँछ। अन्तर्राष्ट्रिय सम्बन्धमा ‘दुई-धु्रव’ राजनीतिभन्दा पनि ‘सन्तुलित कूटनीति’ आवश्यक हुन्छ, जसले कुनै एक देशको दबाबमा परेर राष्ट्रिय स्वार्थमा सम्झौता गर्न नपर्ने वातावरण तयार पार्छ। साथै, यस्तो घटनाले देशहरूले दीर्घकालीन सहकार्यका लागि पारदर्शिता, विश्वास र रणनीतिक साझेदारीलाई बलियो बनाउनुपर्ने शिक्षा दिन्छ।












