१. घटना र विषयसँग सम्बन्धित समाचार
सामाजिक सञ्जाललाई लेखक सीके लालले ‘(अ)सामाजिक’ माध्यम भनेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जाल राजनीतिक बहसको सट्टा गालीगलौज, घृणात्मक अभिव्यक्ति र व्यक्तिकेन्द्रित प्रचारको थलो बन्दै गएको देखिन्छ । एल्गोरिदम र पेड क्याम्पेन प्रयोग गरी नेताहरू र समर्थकहरूले नकारात्मक प्रचार फैलाइरहेका छन् । शीर्ष नेतादेखि कार्यकर्ता तहसम्म हेट स्पिच बढ्दो छ ।
२. घटना र विषय हुने कारण
सामाजिक सञ्जालको एल्गोरिदमले उत्तेजक, भावनात्मक र घृणात्मक सामग्रीलाई बढी प्रोमोट गर्नु मुख्य कारण हो । चुनावी प्रतिस्पर्धामा छिटो पहुँच र प्रभाव जमाउन नेताहरू ‘डिजिटल इन्फ्लुएन्स’, साइबर सेना र पेड क्याम्पेनमा निर्भर छन् । भारतको ‘आइटी सेल’ मोडेलबाट प्रभावित भई नेपालका दलहरूले पनि यस्ता रणनीति अपनाएका छन् । कमजोर नियमन र फेक आईडीको दुरुपयोगले समस्या झनै बढाएको छ ।
३. घटना र विषयबाट सिक्नुपर्ने शिक्षा
घृणात्मक राजनीति र गालीगलौजले सामाजिक सहिष्णुता, लोकतान्त्रिक संस्कार र बहुलवादलाई कमजोर बनाउँछ । नेताहरूको उग्र अभिव्यक्तिले नयाँ पुस्तामा गलत राजनीतिक संस्कार विकास गर्ने खतरा छ । विचार, नीति र कार्यक्रमको बहसलाई प्राथमिकता दिनु आवश्यक छ । सामाजिक सञ्जाल प्रयोगमा आत्मसंयम, जिम्मेवारी र आचारसंहिता पालना नगरे लोकतन्त्र र समाज दुवै दीर्घकालीन रूपमा क्षतिग्रस्त हुने स्पष्ट सन्देश यस घटनाले दिन्छ ।












