१. घटना र विषयसँग सम्बन्धित समाचार:
अर्थ मन्त्रालयले ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ जारी गर्दै पहिलोपटक निजी क्षेत्रका परियोजनामा पनि जलवायु वित्त परिचालन गर्ने व्यवस्था गरेको छ। यस कार्यविधिले अन्तर्राष्ट्रिय कोषबाट प्राप्त अनुदान तथा सहुलियतपूर्ण ऋण निजी लगानीका हरित परियोजनामा प्रयोग गर्न कानुनी आधार दिएको छ। परियोजना छनोट, मूल्यांकन र अनुगमनका लागि निर्देशक समिति, प्राविधिक समिति र इकाई गठन गर्ने व्यवस्था गरिएको छ। प्रशासनिक खर्चमा सीमा तोक्दै पारदर्शिता र प्रतिस्पर्धालाई जोड दिइएको छ।
२. घटना र विषय हुने कारण:
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले अनुकूलन र न्यूनीकरण कार्यक्रमका लागि ठूलो वित्तीय स्रोत आवश्यक परेको छ। सरकारी बजेट मात्र पर्याप्त नभएकाले निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय जलवायु कोषसँग जोड्नुपर्ने आवश्यकता देखिएको हो। विगतमा स्पष्ट कानुनी आधार नहुँदा निजी क्षेत्रको पहुँच सीमित थियो। वित्तीय दायित्व र जोखिमको अन्योल हटाउँदै लगानी आकर्षित गर्न तथा प्रक्रियामा एकरूपता ल्याउन यो कार्यविधि ल्याइएको हो।
३. घटना र विषयबाट सिक्नु पर्ने शिक्षा:
दिगो विकासका लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक हुन्छ भन्ने सन्देश यसले दिन्छ। स्पष्ट नीति, पारदर्शी प्रक्रिया र उत्तरदायित्व सुनिश्चित गरिएमा अन्तर्राष्ट्रिय स्रोत परिचालन प्रभावकारी बन्न सक्छ। जोखिम निजी क्षेत्रले बहन गर्ने र सरकार सहजकर्ताको भूमिकामा रहने व्यवस्था सन्तुलित अभ्यास हो। कार्यान्वयन प्रभावकारी भए मात्र नीतिगत सुधारको वास्तविक उपलब्धि देखिने भएकाले सुशासन र पारदर्शितामा निरन्तर ध्यान दिनुपर्छ।












