जेन–जी प्रदर्शनकारीमाथि सरकारले भाद्र २३ गते गरेको बर्बर दमनको प्रतिशोधमा भएको विध्वंसको निसाना सरकारी भवनदेखि नेताका घरसम्म परेका छन्।
भाद्र २४ गते नेपालको मुख्य प्रशासनिक केन्द्र नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालत तहसनहस पारेका प्रदर्शनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका नेता र पार्टी कार्यालयमा आगो लगाएर ध्वस्त बनाइदिए।
१९ जना युवा मारिएको आक्रोशमा प्रदर्शनकारीले चारपाँच घण्टाको अवधिमा राजनीतिक पार्टीका कार्यालय मात्र होइन, नेताहरूको घर समेत पूर्णरुपमा क्षति पुर्याएको नेताहरू बताउँछन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर आगो लगाएर पूर्ण रुपमा नष्ट गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवा र उनकी श्रीमती निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भौतिक आक्रमण गरेर सख्त घाइते बनाएको र अहिले दुवैको उपचार भइरहेको उनले बताए।
महामन्त्रीद्वय गगन थापाको काठमाडौँ र विश्वप्रकाश शर्माको काठमाडौँको भाडामा लिएको घर तथा झापाको घर पूर्णरुपमा नष्ट भएको छ। यस्तै प्रकाशमान सिंहको घर र त्यहाँ पार्किङ गरिराखिएका ४ वटा गाडी, रमेश लेखकको घर पनि आगजनीले ध्वस्त भएको छ।
‘केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य गरी ४० जनाको घर पूरै ध्वस्त भएको अहिलेसम्म जानकारी प्राप्त भएको छ। कतिपयलाई फिजिकल एट्याक पनि भएको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘सबै जिल्लामा फोन गरेर एकदुई दिनसम्म मेल गरिदिनु भनेको छु। म क्षतिको विवरण संकलन गरिरहेको छु।’
केन्द्रीय कार्यालय पूर्णरुपमा नष्ट भएको उनको भनाइ छ।
‘हाम्रो पार्टी कार्यालय खरानी बनाइएको छ। ऐतिहासिक दस्ताबेज सबै ध्वस्त भएको छ,’ उनले थपे।
छिट्टै अस्थायी रुपमा पार्टी कार्यालय चलाउने उनले बताए।
‘नेपाली कांग्रेस राणालाई सिध्याएको पार्टी हो। पञ्चायतसँग लडेर जितेको पार्टी हो। यी सानातिना कुराले असर त आम नागरिकलाई गरिसक्यो,’ मुख्यसचिव पौडेलले भने, ‘तर, कांग्रेसले आफूलाई ब्युँताउँछ। संविधानलाई ट्रयाकमा ल्याउँछ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई कायम गराउँछ। कांग्रेस पार्टी दुबो हो। नेपालको इतिहासमा संकट व्यवस्थापनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ। अब पनि गर्छ।’
जेनजी प्रदर्शनकारीको निसानामा परेको अर्काे राजनीतिक दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवास खरानी बनाइदिएको उपाध्यक्ष गुरु बरालले बताए।
उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठको जनकपुरस्थित घर जलाइएको छ।
त्यस्तै, प्रदेशका मुख्यमन्त्रीहरू यमलाल कँडेल, चेतनारायण आचार्य, पोलिटब्युरो सदस्यहरू गोकुल बास्कोटा, महेश बस्नेत लगायत केन्द्रीय, प्रदेशदेखि पालिकासम्मको नेताको घर आक्रमणकारीले तोडफोड र जलाइदिएको बरालको भनाइ छ।
‘हामी सबैतिरको क्षतिको विवरण संकलन गरिरहेका छौँ। तर, यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति हो। प्राकृतिक प्रकोप र भूकम्पको भन्दा पनि ठूलो क्षति,’ बरालले भने, ‘राजनीतिक भूकम्पहरूभित्र माओवादी युद्धको बेलामा पनि यति क्षति भएको थिएन। जुन जिल्लामा सम्पर्क गर्यो, त्यहीँको पार्टी कार्यालय र नेताको घर फोरेको भन्नुहुन्छ।’
केन्द्रीय कार्यालय खरानी हुँदा थुप्रै महत्त्वपूर्ण दस्तावेज नष्ट भएको बरालको भनाइ छ।
‘पार्टी कार्यालय च्यासलमा पार्टीका ऐतिहासिक दस्ताबेजहरू सबै जलाए। कसैसँग इलेक्ट्रोनिकल भर्सन थियो भने त्यो बचेको छ, हाम्रो संगठनात्मक विवरण बाहिर हार्ड कपी भएको हुनाले त्यो बच्यो। अब हामी केही हार्ड डिस्क खोलेर हेर्दैछौँ, त्यहाँ केही बचेको छ कि,’ उनले थपे।
एमालेले प्रत्येक जिल्ला कार्यालयसँग प्रदर्शनकारीले गरेको आक्रमणले पुर्याएको क्षतिको विवरण माग गरेको उनले बताए।
‘मानसिक क्षति र भौतिक क्षतिले पार्टीलाई अस्थायी धक्का त दिन्छ तर, विचार, नीति संगठन र सिद्धान्त हामीसँग छ। हामी जित्छौँ,’ बरालले भने।
जेनजी प्रदर्शनकारीको निसानामा नेकपा माओवादी केन्द्र पनि पर्यो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, चार वटा गाडी पूर्णरुपमा खरानी भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए। २२ जना नेताको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको विवरण आए पनि देशभर निकै ठूलो संख्यामा आगजनी र भौतिक क्षति भएको उनले बताए।
कोटेश्वरस्थित माओवादीको केन्द्रीय कार्यालयका एक अधिकारीले केही बाँकी नरहेको बताए।
‘केन्द्रीय कार्यालयमा हाम्रो केही बाँकी छैन, सबै शून्य। केही सग्लो छैन। सबै महत्त्वपूर्ण दस्तावेज थियो, ती केही बाँकी छैनन्। पूर्णरुपमा नष्ट छ। कुनै रसायन हालेर आगजनी गरेको जस्तो देखिन्छ। भित्ता सबै जलेर खण्डहर छ,’ ती अधिकारीले भने, ‘सार्वजनिक पद बाहेकका ४० जना बढी नेताको घर पूर्णरुपमा क्षति पुर्याइएको छ। अलिकति कम क्षति भएको कर्णालीमा मात्र हो। कर्णालीको प्रदेश कार्यालय मात्र क्षति भएको छ। नत्र अरु सबै प्रदेशमा नेताका घर जलाइएको छ।’
अझै विवरण संकलनको काम भइरहेको उनको भनाइ छ। माओवादीको सबै जिल्लामा पार्टी कार्यालय थिएनन्। भवन नभएको ठाउँमा सामान लुटपाट र तोडफोड भएको उनले बताए
माओवादीको केन्द्रीय कार्यालयमा ३ वटा मोटरसाइकल पनि जलाइएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास, सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवास पूर्णरुपमा ध्वस्त बनाइएको छ।
घरमा आगो लगाउँदा खनालकी श्रीमती गम्भीर घाइते भएकी छन्। वरिष्ठ नेता राजेन्द्र पाण्डेको धादिङमा रहेको निवास तोडफोड र आगजनी भएको छ।
माधव नेपालको तीन भाइको घरमा आगजनी गरिएको छ। स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको गाडी जलाइएको छ। समाजवादीको पार्टी कार्यालय पनि तोडफोड र आगजनी भएको छ। आगजनीले पार्टीका महत्त्वपूर्ण दस्तावेज जलेर खरानी भएको नेताहरू बताउँछन्।
रास्वपा र राप्रपाको पार्टी कार्यालय र नेताहरूमाथि भौतिक आक्रमण नभएको नेताहरू बताउँछन्।
आगजनीले तहसनहस भएपछि कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरू घरबारविहीन भएका छन्। उनीहरू अहिले सेनाको उच्च सुरक्षा घेरामा रहेका छन्।