काठमाडौं । आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनसँगै गरेका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति बालुवाटारस्थित सरकारी निवास अगाडि विरोध प्रदर्शन गरेका छन् ‘जेनजी अगुवा’ भनिएका गुरुङको समूहले प्रधानमन्त्री कार्कीले गरेका मन्त्री छनोट उचित नभएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको हो। खासगरी अधिवक्ता तथा अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिइएको निर्णयप्रति उनीहरू असन्तुष्ट देखिए।प्रदर्शनका क्रममा गुरुङले चेतावनी दिँदै भने, “यो सुरु मात्र हो, फेरि आन्दोलनमा उत्रियौँ भने कसैले रोक्न सक्दैन।” उनका समर्थकहरूले ‘मुर्दामाथि राजनीति नगर’, ‘आन्दोलनको नेतृत्व हामी हौँ’ जस्ता नारा लगाएका थिए। उनीहरूले केही व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाए।प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेपछि तीन जनालाई मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। अधिवक्ता ओमप्रकाश अर्याललाई गृहसहित दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहकारी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।प्रधानमन्त्रीले यी नामहरू राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेकी छन्। शपथग्रहण कार्यक्रम सोमबार (आज)का लागि तय गरिएको शीतल निवास स्रोतले जनाएको छ।