काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी रूपमा नचलेको र फुटबलका नियमित गतिविधि ठप्प भएको विरोधमा आइतबार नेपाली फुटबल समर्थकले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि प्रदर्शन गरेका छन् ।
युवा समर्थकहरूले फुटबल खेलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिगसमेत आयोजना गर्न नसकेको एन्फा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरूले “फुटबल क्यालेन्डरमा होइन, मैदानमा चाहियो”, “फिफा विश्वकप चार वर्षमा आउँछ, ‘ए’ डिभिजन लिग कहिले आउँछ ?”, “लिग चलाऊ, फुटबल बचाऊ” जस्ता नारा लेखिएका प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
तीन वर्षअघि पङ्कजविक्रम नेम्वाङ एन्फा अध्यक्ष बनेपछि नेपाली फुटबल झन् कमजोर बन्दै गएको समर्थकहरूको आरोप छ । उनीहरूका अनुसार एन्फा नेतृत्वले खेलकुदका गतिविधि उपेक्षा गरेर जिल्ला र प्रदेशका प्रतिनिधिलाई विदेश भ्रमणमा पठाउने तथा आगामी निर्वाचनमा आफ्नो पकड बलियो बनाउने अभियान चलाइरहेको छ ।
एन्फा नेतृत्वको उदासीनताका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम—दशरथ रङ्गशाला—फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) बाट अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि अयोग्य घोषित भएको धेरै भइसकेको छ ।
त्यसको परिणामस्वरूप एसिया कप छनोटअन्तर्गत भियतनामसँग घरेलु मैदानमा खेल्नुपर्ने नेपालले उक्त खेल भियतनाममै खेल्न बाध्य भएको छ । पहिलो लेगमा ३–१ गोलले पराजित भएको नेपालले दोस्रो खेल मङ्गलबार फेरि भियतनामकै मैदानमा खेल्नेछ । यसअघि पनि रङ्गशालाको कारण नेपालले घरेलु खेल विदेशमा खेल्नुपर्ने बाध्यता भोगिसकेको थियो ।
मैदानमा नियमित खेल नहुँदा राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडीहरू समेत अस्ट्रेलियालगायत विभिन्न देशमा पलायन भइसकेका छन् ।
फिफा र एएफसीको अनुदानसहित वार्षिक करिब एक अर्ब ५० करोड रुपैयाँ बजेट हुने एन्फा नेतृत्वले फुटबल विकासभन्दा भत्ता र विदेश भ्रमणमा बढी रुचि देखाएको भन्दै समर्थकहरूले शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
यसैबीच, समर्थकहरूको आन्दोलनका कारण एन्फाले आइतबार क्लबहरूसँग बोलाएको ‘ए’ डिभिजन लिग सम्बन्धी बैठक स्थगित गरेको छ ।