आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ।
आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १४७ रन जोडेको थियो।
१४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको पारी खेले। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान गरे।
कतारका डानियल आर्कर मारिया लुइसले ३ ओभर बलिङ गर्दै २२ रन दिएर नेपालको ३ विकेट तथा मिर्जा मोहम्मद बाइगले ४ ओभर बलिङमा २९ रन दिएर समान ३ विकेट झारे भने मुहम्मद असिम लियाकत अलिले ३ ओभर स्पेलमा १६ रन दिएर १ विकेट झारे पनि जितका लागि पर्याप्त रहेन।
१४८ रनको लक्ष्य पछ्याएको कतारका लागि इमाल लियानेज र जुबेइर अलिले अर्धशतकीय योगदान गरे। इमालले ५६ र जुबेइरले ५२ रन जोडे। मुहम्मदको नाममा १० रनको योगदान रह्यो।
नेपालले कसिलो बलिङ र फिल्डिङ गर्दा कतार अन्तिममा चुक्यो। सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन लिएर कतारको ५ विकेट झारेका थिए। त्यसैगरी नन्दन यादवले ४ ओभर बलिङमा २९ रन दिएर २ विकेट चट्काए भने दीपेन्द्रको नाममा १ विकेट रह्यो।